काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रअन्तर्गतका देशहरूले हालको कोरोना महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप सबलीकरण गर्ने मन्त्रीस्तरीय प्रतिबद्धता घोषणा गरेका छन् ।
हाल जारी चौहत्तरौँ क्षेत्रीय समितिको बैठकको दौरानमा एउटा मन्त्रीस्तरीय गोलमेचमा बोल्दै विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीहरूले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मदत गर्ने बताइन् । उत्थानशील स्वास्थ्य प्रणालीहरू आपत्कालीन तत्परता र प्रतिकार्यका आधारशीला रहेको र यस्ता प्रणालीहले प्रकोपका घटना हुँदा अत्यावश्यक स्वास्थ्य सेवाहरू सुचारु रहेको सुनिश्चित गर्न मदत गर्ने उनको भनाइ छ ।
मन्त्रीस्तरीय गोलमेचमा अनुमोदन गरिएको उक्त घोषणामार्फत सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यहरूतर्फ प्रगति गर्नका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहीता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीहरूलाई बृहत् प्राथमिक स्वास्थ्य सेवातर्फ पुनः अभिमुखीकरण गर्ने र सोमार्फत जनस्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताको लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त घोषणामा महामारीको दौरानमा र महामारीपश्चात्को समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरू र जनस्वास्थ्यका कार्यक्रमहरू सुचारु राख्नका लागि समुदायहरूलाई अझ संलग्न गराउने र समुदायहरूको सशक्तीकरण गर्ने प्रतिबद्धता पनि गरिएको छ । जोखिममा रहेका र प्रभावित समुदायहरूका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्नका लागि, सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपत्कालसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिहरूलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति पनि जनाएका छन् ।
यसका अतिरिक्त, सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरूका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरू स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यसैगरी, सदस्य राष्ट्रहरूले परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् । उक्त घोषणामा जनस्वास्थ्यसम्बन्धी आपत्कालहरूलाई सम्बोधन गर्न र सबैका लागि उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्न आवश्यक पर्ने राष्ट्रिय क्षमता विकासको कार्यमा विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण भूमिकालगायतका अतिरिक्त स्रोत तथा साझेदारीहरूको महत्वमाथि पनि जोड दिइएको थियो ।