काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । एमालेले अवरोध गरेपछि भोलि शुक्रबारसम्मका लागि दुवै सदनको बैठक स्थगित गरिएको छ । एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको भूमिका सभामुखको रुपमा भन्दा पनि राजनीतिक पार्टीका नेताको रुपमा र एमाले विभाजन गर्नेतर्फ भएको भन्दै उनीबाट निष्पक्ष काम भएर संसद्को गरिमा नबढ्ने ठहर गरेको छ ।
आफूहरुले कारबाही गरेका सांसद्हरुलाई सदनमा बस्न दिने सभामुखकको कार्य गैरसंवैधानिक रहेको एमालेको ठहर छ । एमालेले माधव नेपालसहित १४ जना सांसद संसद्मा उपस्थित भएसम्म सदन चल्न नदिने बताएको छ ।प्रतिनिधिसभाको बुधबारको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका थिए ।
प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको थियो । संघीय संसद्को नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेपछि १५ मिनेट स्थगन भई सुरु भएको दोस्रो बैठकमा पनि सांसदले नाराबाजीसहित वेल घेराउ गरेका थिए ।
पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि एमालेका सांसदले आआफ्ना स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख सापकोटाले सांसदलाई उनीहरूको मागबारे आफ्नो ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेका थिए ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश’ पेश गर्नेलगायत कार्यसूची छ ।
यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वेसम्बन्धी अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि पेश गर्ने, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश र सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ स्वीकृतिका लागि पेश गरिने कार्यसूची थियो ।