काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज बिहीबार बिहान कतारबाट काठमाडौँ आउने कार्यक्रम निश्चित भएको छ ।नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।
सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब रुपैयाँ सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुनलागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो । यद्यपि उनीहरू एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन लागेकी हुन् । अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति दिनाका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारणलाइन निर्माणलाई प्राथमिकता दिएर तदनुरुप काम अघि बढाएको थियो ।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा चार सय किलोभोल्ट क्षमताको तीन सय १८ किलोमिटर लामो प्रसारणलाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा तीन सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ ।नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । रासस