काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्य गरेबापत चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकका अनुसार जर्मन सरकारबाट केएफ डब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार रकम हस्तान्तरण गरिएको हो ।
बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार तीन सय २० रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिज प्रालिलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्स प्रालिलाई ३२ लाख आठ हजार आठ सय रुपैयाँ रकम हस्तान्तरण गरेको हो । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
नेपालका लागि जर्मन राजदूतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिनकेले चेक हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरूलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म २१ वटा उद्योगहरूलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्जुकेटिभ एजेन्सी (पीईए)को रूपमा सहायतासम्बन्धी कार्य गर्नेगरेको छ ।
यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ । यस आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
उक्त समारोहमा एनईईपी, जीआईजीका प्रमुख सल्लाहकार फ्रांक बुमर, केएफडब्लू काठमाडौंका प्रतिनीधि निरज सुवेदी, बैंकका विभागीय नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरू क्रमशः प्रदिप निरौला, प्रशान्त नेपाल, सन्दीप खडका, विजयसिंह वैद्यलगायत कर्मचारीहरूकोे उपस्थिति रहेको थियो ।