काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफू निर्वाचित भएमा संघको सदस्य संख्या पाँच लाख पु-याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । अहिले संघको सदस्य संख्या एक लाख बढी छ । जीएनएनसँग कुरा गर्दै आचार्यले थप मुलुकहरूमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषद्हरूलाई क्रियाशील गराएर सदस्य संख्या पाँच गुना बढाउने आफूले योजना ल्याएको बताए । उनले संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको संख्या एक सय पु-याउने पनि बताए ।
हालसम्म ८४ देशमा एनआरएनए पुगे पनि २० भन्दा बढी एनसीसी निष्कृय रहेका छन् । आचार्यले तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरूको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै राहदानीसहित नागरिकताको अधिकार स्थापित गर्ने आफ्नो योजना रहेको बताए । ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालगायत प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेको छु र उहाँहरू सबैजना सकारात्मक हुनुहुन्छ’, आचार्यले भने । ‘म्यान्मार, थाइल्याण्डलगायतका मुलुकमा बसोबास गरिरहेका नेपालीमूलका दाजुभाइ दिदीबहिनीहरूलाई ’पिपुल अफ नेपाली अरिजिन’ (पीएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु’, उनले भने । उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताए ।
संघका सल्लाहकार तथा पूर्वकेन्द्रीय उपाध्यक्ष रही सकेका आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरूका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरूको विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए । गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्किरहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरू सञ्चालन गरिने पनि उनले बताए ।
गैरआवासीय नेपाली खेल प्रतिभाहरूको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने पनि उनको योजना छ । आचार्यले हालसम्मको आफ्नो अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरूलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए । उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रममार्फत औपचारिक घोषणा गर्ने पनि जनाए ।