काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार आठ सय ७५ दशमलव ९७ बिन्दुमा पुगेर रोकिएको छ । ‘क’ बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३५ दशमलव २९ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार चार लाख ७२ हजार पाँच सय ८० पटकको कारोबारमा आठ करोड ६७ लाख आठ हजार आठ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार पाँच सय १० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा घटी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार पाँच लाख २८ पटकको कारोबारमा आठ करोड ३२ लाख ९० हजार आठ सय ६४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो दिन नेप्से बढेको थियो भने पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन नेप्से बढेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक एक सय दशमलव आठ अंकले ओरालो लागेर दुई हजार आठ सय १८ दशमलव ७२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ७६ अंंकले ओरालो लागेर पाँच सय २२ दशमलव एक बिन्दुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक एक सय ६१ दशमलव ९४ अंकले उकालो लागेर दई हजार नौ सय ८० दशमलव ७८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ३१ दशमलव ४१ अंंकले उकालो लागेर पाँच सय ५३ दशमलव ४० बिन्दुमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक ४४ दशमलव १८ अंकले ओरालो लागेर दुई हजार नौ सय ३६ दशमलव ६० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव पाँच अंंकले ओरालो लागेर पाँच सय ४८ दशमलव ३५ बिन्दुमा झरेको थियो ।
चौथो दिन पनि बजार परिसूचक ६० दशमलव दुई अंकले ओरालो लागेर दुई हजार आठ सय ७६ दशमलव ५९ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९१ अंकले ओरालो लागेर पाँच सय ३६ दशमलव ५१ बिन्दुमा झरेको थियो । पाँचौँ दिन पनि बजार परिसूचक शून्य दशमलव ६२ अंकले ओरालो लागेर दुई हजार आठ सय ७५ दशमलव ९७ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले ओरालो लागेर पाँच सय ३५ दशमलव २९ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी अरुण काबेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
सातामा दुईवटा बैंकको ऋणपत्र सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यो साता दुुईवटा कम्पनीहरूको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको नौ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ सूचीकृत भएको हो । जसअनुसार सांग्रिलाको सात लाख ५० हजार युनिट ऋणपत्र सूचीकृत भएको छ ।
यसैगरी प्राइम कमर्सियल बैंकको पनि आठ दशमलव ७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५ सूचीकृत भएको छ । सोअनुरूप उक्त बैंकको २४ लाख ४७ हजार नौ सय ६३ कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।