काठमाडौं । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत आन्तरिक उडानतर्फको ब्यागेज एरियाबाट करिब दुई करोड २४ लाख ९२ हजार तीन सय ९७ रुपैयाँ मूल्यबराबरको तीन किलो तीन सय ६० ग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी छन् ।
श्री एयरलाइन्सको उडानद्वारा विराटनगर जान लागेका उनीहरूलाई उक्त ब्यागेज एरियामा खटिएको प्रहरीले एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको पाँच सय १५ ग्राम बराबरको सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको पाँच सय ९७ ग्राम, २२ क्यारेटको एक हजार पाँच सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको छ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ ।