अमेरिका, माघ १३
विमान निर्माता अमेरिकी कम्पनी बोइङको विश्वकै ठूलो दुई इन्जिनयुक्त जहाजको परीक्षण उडान सफल भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार बोइङको ७७७एक्स विमानले सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको हो । ७३७ म्याक्स श्रेणीका विमानको समस्याबाट उम्किन नसकेको कम्पनीले पछिल्लो सफलता पाएसँगै केही राहत महसुस गरेको बताइएको छ । सिटल राज्यनजिकै पहिलो उडान गरेको विमानले आकाशमा चार घण्टा बिताएको थियो । यसअघि नै उडान परीक्षणका लागि समय निर्धारण गरिए पनि ठूलो हुरीबतासका कारण सम्पन्न हुनसकेको थिएन ।
उक्त विमान अर्को वर्ष इमिरेट्ससँग सेवामा प्रवेश गर्नेछ । त्यसअघि विमानले अझै परीक्षण उडान गर्ने बताइएको छ । विमान २ सय ५२ फुट लामो रहेको छ । यही वर्ष सेवामा ल्याउने तयारी गरिए पनि कम्पनीले प्राविधिक कठिनाइका कारण ल्याउन नसकेको हो । यो विमान कम्पनीको ७७७ मिनि जम्बोकै उत्कृष्ट भर्सन रहेको छ । यसमा फोल्डिङ विंगटिप्स र ठूलो व्यावसायिक इन्जिन रहेको छ । बोइङले ३ सय ९ वटा विमान बेचिसकेको जनाएको छ । प्रतिविमान मूल्य ४४ करोड २० लाख अमेरिकी डलर पर्ने यो विमानले युरोपेली विमान निर्माता एयरबसको ए३५०–१००० मोडलसँग प्रतिस्पर्धा गर्नेछ । उक्त विमानले ३ सय ६० जना यात्रु बोक्छ । ७३७ म्याक्स श्रेणीका विमान दुईवटा दुर्घटनामा परेपछि बोइङ संकटमा फस्दै आएको छ । उक्त विमानहरु अहिले पनि सेवामा नफर्किँदा कम्पनीले ठूलो घाटा व्यहोर्नुपरेको छ ।