काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको ३०, ३१ र ३२औँ वार्षिक साधारणसभा गरिएको छ । उद्योगका प्रबन्धसञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कोरोना भाइरस कोभिड–१९ का कारण भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुममार्पmत साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभामा कम्पनीका प्रबन्धसञ्चालक श्रेष्ठले आव २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा लकडाउन तथा निषेधाज्ञालगायतका कारणले गर्दा भौतिक निर्माणका कार्यहरू हुन नसकिरहेको असहज परिस्थिति सृजना भएकोले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले बजारमा न्यून गुणस्तरका बिटुमिनसँग प्रतिस्पर्धा गरी केही मुनाफा आर्जन गर्नसकेको जानकारी गराएका थिए । साथै सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको बताए । त्यसैगरी अन्य प्रदेशहरूमा डिलर नियुक्त गरी बिटुमिनको बजार विस्तार गरिने पनि उनले जानकारी गराए ।
सेयरधनीहरूको तर्फबाट अमृतनाथ रेग्मीका साथै डमरू वल्लभ घिमिरेले कोभिड–१९ का कारण देशमा लकडाउन तथा निषेधाज्ञाजस्ता असहज परिस्थिति पैदा हुँदा समेत केही मुनाफा कमाउन सक्षम भएको तथा कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार कम्पनी अगाडि बढाउन सञ्चालक समितिमा नयाँ सञ्चालकलाई सहभागी गराउने साथै कम्पनीको काममा लगनशील भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद ज्ञापन गरेका थिए ।