दोलखा । पछिल्ला दिनमा जिल्लामा कोरोना भाइरसका बिरामी दैनिक रूपमा क्रमशः घट्दै गएका छन् । जिल्लाकै ठूलो अस्पताल चरीकोट अस्पतालमा कोरोनाका बिरामीहरू आउन नै छाडेको अस्पतालका डाक्टरहरूले बताएका छन् ।दोलखामा मंगलबार थप ८ जनालाई मात्र कोरोना संक्रमण पृष्टि भएको छ । नौवटै स्थानीय तहबाट २० जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा आठ जनालाई मात्र संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७८ मात्र रहेको छ ।
केही साताअघि सक्रिय संक्रमितको संख्या तीन सयभन्दा माथि रहेको थियोे । अहिले घटेर ७८ जनामा झरेको चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी मंगलबार थप १५ जना संक्रमणमुक्त भएका छन् । हालसम्मको कोरोना संक्रमण दर हेर्दा जिल्लाको सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा सात सय ३२ जना पुरुष र पाँच सय ९९ जना महिला गरी एक हजार तीन सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी जिरी नगरपालिकामा एक सय ६० पुरुष र एक सय ९ महिला गरी जम्मा तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कालिञ्चोक गाउँपालिकामा हालसम्म एक सय ४५ जना पुरुष र एक सय २० महिला गरी दुई सय ६५ जनामा, गौरीशकर गाउँपालिकामा ९६ पुरुष र ६५ जना महिला गरी एक सय ६१ जनामा, बिगु गाउँपालिकामा एक सय ७४ पुरुष र ७८ महिला गरी दुई सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी तामाकोशी गाउँपालिकामा तीन सय १८ पुरुष र दुई सय ८३ महिला गरी छ सय एक जनामा, शैलुङ गाउँपालिकामा एक सय नौ जना पुरुष र ७८ महिला गरी एक सय ८७ जनामा, मेलुङ गाउँपालिकामा एक सय पाँच पुरुष र ९५ जना महिला गरी दुई सय जनामा र बैतेश्वर गाउँपालिकामा एक सय ३८ जना पुरुष र एक सय ३४ जना महिला गरी २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोलखामा हालसम्म एक हजार नौ सय ७७ पुरुष र एक हजार पाँच सय ६१ महिला गरी तीन हजार पाँच सय ३८ जनामा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी दोलखामा १३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमा आठ पुरुष र पाँच महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार दोलखा जिल्लाभर पाँच हजार सात सय २१ जनाको पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन विधिबाट तीन हजार छ सय ५४ जनाको नमूना परीक्षण गरिएको छ । जिल्ला करिब ६५ प्रतिशत मानिसले कोरोनाविरुद्धको पहिलो र ५५ प्रतिशत मानिसले कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाएका छन् ।