काठमाडौं । विकास बैंकहरुमा निक्षेप (खातामा जम्मा भएको रकम) भन्दा पनि कर्जा (ऋण) को बृद्धिदर अधिक देखिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसनका अनुसार गत साता क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुको कुुल निक्षेप चार खर्ब ४९ अर्ब ३३ करोड ९२ लाख २० हजार रुपैयाँ रहेको थियो । यो साता भने यस्तो निक्षेप शून्य दशमलव ५५ प्रतिशत अर्थात् दुई अर्ब ४८ करोड दुई लाख ८० हजार रुपैयाँले बढेर चार खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने गत साताको तुुलनामा एक दशमलव ३९ प्रतिशतले बढेको छ । एसोसिएसनका अनुसार गत साता सञ्चालनमा रहेका कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सहारा विकास बैंकबाहेकका १५ वटा विकास बैंकहरुको कुल कर्जा तीन खर्ब ९६ अर्ब ८८ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको थियो । तर यो साता भने यस्तो कर्जा रकम पाँच अर्ब ५१ करोड ८० लाख ९० हजार रुपैयाँले बढेर चार खर्ब दुई अर्ब ४० करोड ३९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको मात्र कुुल निक्षेप भने गत साताको तुुलनामा शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । गत साता राष्ट्रियस्तरका विकास बैंकहरुले चार खर्ब १७ अर्ब ३६ करोड १४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यो साता यस्तो निक्षेप रकम दुई अर्ब ४८ करोड १० लाख आठ हजार रुपैयाँले बढेर चार खर्ब १९ अर्ब ८४ करोड २५ लाख १० हजार रुपैयाँ पुगेको छ ।
यसैगरी यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने एक दशमलव ४६ प्रतिशतले बढेको छ । गत साता यस्ता बैंकहरुले तीन खर्ब ६८ अर्ब ८० करोड ५० लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा रकम पाँच अर्ब ३९ करोड १४ लाख ९० हजार रुपैयाँले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड ६५ लाख ५० हजार रुपैयाँ पुुगेको छ ।
एसोसिएसनका अनुसार क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेपमा भने पछिल्लो समय गिरावट आएको छ । गत साता क्षेत्रीय बैंकहरुले ३१ अर्ब ९७ करोड ७७ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यो याता यस्तो निक्षेप आठ लाख ४० हजार रुपैयाँले घटेर ३१ अर्ब ९७ करोड ६९ लाख ५० हजार रुपैंयाँमा खुम्चिएको छ ।
यस अवधिमा क्षेत्रीय बैंकहरुको कर्जा रकम भने शून्य दशमलव ४५ प्रतिशतले बढेको छ । गत साता क्षेत्रीयस्तरका विकास बैंकहरुले २८ अर्ब आठ करोड आठ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा १२ करोड ६६ लाख रुपैयाँले बढेर २८ अर्ब २० करोड ७४ हजार रुपैयाँ पुुगेको छ । एसोसिएसनका अनुसार यही भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुको निक्षेप तथा कर्जामा यस किसिमको उतारचढाव आएको हो । (आर्थिक दैनिकबाट)


