काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानका लागि सकारात्मक पहल हुने परिसंघको भनाइ छ ।
कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भई पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ । अनअराइभल भिसा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहजरूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्नेमा पनि परिसंघले जोड दिएको छ । सरकारले अनअराइभल भिसा खुला गरे पनि अझै केही मुलुकले नेपाललाई ‘रेड लिस्ट’मा राखेको छ ।