काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण आयोजनाहरूको बीमासम्बन्धी विवाद समाधान भएको जनाएको छ । कोभिड–१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको म्याद थपको लागि भदौ ३ को मन्त्रिपरिषद् निर्णयानुसार खरिद सम्झौताको २०७८ साल चैत्र मसान्तसम्मको लागि म्याद थप गरिएकोमा ती ठेक्काहरूको म्याद थप गर्दा आवश्यक पर्ने पुनर्बीमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफूखुशी वृद्धि गरेका थिए ।
महासंघको पहलमा सरोकारवालाबीच भएको छलफलपछि यो समस्या समाधान भएको छ । महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माणसम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाहरूको हकमा थप भएको समयावधिका लागि नेपाल बीमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको महासंघले जनाएको छ ।