काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार आठ सय १९ दशमलव ६५ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३० दशमलव दुई बिन्दुुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन । जसअनुसार तीन लाख ६३ हजार सात सय ६६ पटकको कारोबारमा छ करोड चार लाख ७३ हजार एक सय ६३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार आठ सय ४८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा घटी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार चार लाख ३९ हजार तीन सय ६५ पटकको कारोबारमा सात करोड चार लाख ४७ हजार सात सय १७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार सात सय १६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने दोस्रो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो । बाँकी तेस्रो, चौथो र पाँचौँ दिन भने सेयर बजार परिसूचक उकालो लागेको थियो ।
दोस्र्रो दिन भने बजार परिसूचक एक सय १४ दशमलव दुई अंकले ओरालो लागेर दुई हजार छ सय ९८ दशमलव २४ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५१ अंंकले ओरालो लागेर पाँच सय छ दशमलव २७ बिन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक १३ दशमलव ८३ अंकले उकालो लागेर दुई हजार सात सय १२ दशमलव सात बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३६ बिन्दुले उकालो लागेर पाँच सय आठ दशमलव ६६ बिन्दुमा चढेको थियो ।
चौथो दिन पनि बजार परिसूचक एक सय चार दशमलव ८८ अंकले उकालो लागेर दुई हजार आठ सय १६ दशमलव ९५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४७ अंकले उकालो लागेर पाँच सय २८ दशमलव १० बिन्दुमा चढेको थियो । पाँचौँ दिन पनि बजार परिसूचक दुई दशमलव सात अंकले उकालो लागेर दुई हजार आठ सय १९ दशमलव ६५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले उकालो लागेर पाँच सय ३० दशमलव दुई बिन्दुमा चढेकोे थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी अरुण काबेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
सातामा दुईवटा कम्पनीको सेयर सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यो साता दुईवटा कम्पनीहरूको साधारण तथा बोनस सेयर सूचीकृत भएका छन् । जसमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत सेयरको कारोबार मूल्य ९५ रुपैयाँ ७५ पैसादेखि दुई सय ८७ रुपैयाँ २५ पैसाबीचको मूल्य तोकिएको थियो । यसैगरी नेपाल ल्यब आयल लिमिटेडको पनि १० प्रतिशत बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीका अनुसार कुल २९ हजार एक सय सात कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।