काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुसार उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले संयुक्तरूपमा गरेका हुुन् ।
समुद्घाटन समारोहमा महजोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन् र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय छवटा शाखा कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुई अर्ब २७ करोड ६४ लाख ९४ हजार चार सय ४२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्ले आवकोे सोही अवधिमा भने बैंककोे यस्तो नाफा एक अर्ब ७७ करोड ६२ लाख ६४ हजार पाँच सय २४ रुपैयाँ रहेको थियो । बैंकले आव २०७७–०७८ मा एक खर्ब २८ अर्ब ४२ करोड ५८ लाख ६७ हजार एक सय ८१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ९८ करोड ८३ लाख ३७ हजार एक सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब २७ करोड ६४ लाख ९४ हजार चार सय २६ रुपैयाँ रहेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ६८ करोड ९८ लाख १६ हजार एक सय नौ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब सात अर्ब २५ करोड दुई लाख दुई हजार छ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड तीन लाख ५१ हजार तीन सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १८ करोड ९६ लाख ९४ हजार तीन सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ४७ प्रतिशत रहेको थियो ।