काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार तीन सय ५० रुपैयाँमध्येबाट २० प्रतिशत अर्थात् चार करोड ८४ लाख २४ हजार दुई सय ७५ रुपैयाँ ९० पैसाबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांशमध्येमा १९ प्रतिशत अर्थात् चार करोड ६० लाख तीन हजार ६२ रुपैयाँबराबरको बोनस सेयर र एक प्रतिशत अर्थात् २४ लाख २१ हजार दुई सय १३ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज १३ गते बसेको एक सय ७९औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।