काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी पर्व छुट ल्याएको छ । टेलिकमले पर्व छुट योजनामा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस प्रदान गर्ने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा भोलि (असोज १९ गते) देखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने टेलिकमले बताएको छ ।
पर्व छुटअन्तर्गत डाटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा छ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा एक दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार तीन सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सयभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । उल्लिखित प्याकेजहरु प्राप्त गर्न ग्राहकले ८१४१५३ डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।