नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भई अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार छ सय ८७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
संख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार सात सय ७० जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार आठ सय ३३ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ३१ लाख ७५ हजार छ सय ५६ पुगेको छ ।
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार आठ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये १४ लाख नौ हजार आठ सय २५ जनाको मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा संक्रमितहरुको संख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिँदै आएको छ । केरलामा अहिले पनि एक लाख २५ हजार ३० जना सक्रिय संक्रमित रहेका छन् ।