काठमाडौं । दशैँको बीचमा परेको बेमौसमी वर्षा देश र दुनियाँका लागि धेरै महँगो प-यो । तत्कालका लागि यसको समाधान सहजै होलाजस्तो देखिएको छैन । खासगरी सरकारका क्रियाकलापले त घाउमा नुनचुक छर्नेजस्तो हुँदै गएको छ । यो दिनसम्म मानवीय क्षतिको संख्या जस्तो रह्यो त्यो डरलाग्दो नै थियो । यस्तो बेला प्रधानमन्त्रीको दुईदिने भ्रमण भयो, एउटा ठूलो दलबलसहित । त्यस्तो दलबलमा राजनीतिक प्रतिस्पर्धा हाबी भएको देखियो । भ्रमणपछि प्रधानमन्त्रीको प्रेस सम्मेलनमा अर्लि निर्वाचन र एमसीसीले प्राथमिकता पाए ।
प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रका पीडा समेतले सम्बोधन पाएको देखिएन । यो भ्रमणमा कतिपय मानिसले भेट्नै नपाएका भन्ने पनि समाचार आए । कतिपय ठाउँमा कति मानिस भेला भएका थिए तर प्रधानमन्त्री हवाइ यात्राबाट नै फर्किएका भन्ने पनि आरोप लाग्यो ।
यसले यो क्षतिको पूर्ति सरकारले कसरी गर्छ भन्ने चिन्ताजनक चित्र देखाउँछ । मान्छे मरेका भन्ने त छँदै छ यसबाट जोगिएकाहरूको जीवन कति कष्टकर होला भन्ने अन्नबालीको क्षतिले नै बताइरहेको छ । बेमौसमी वर्षा र त्यसपछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै सात अर्ब २२ करोड रुपैयाँबराबरको धानमा क्षति पु-याएको अवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरणअनुसार लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको हो । मन्त्रालयले बताएअनुसार धान उत्पादन हुने मुख्य पकेटक्षेत्रको विवरण आउन बाँकी नै छ ।
अहिलेसम्म प्राप्त अनुमानित र प्रारम्भिक विवरणअनुसार करिब १० अर्ब रुपैयाँको धानबाली प्रभावित भए पनि क्षति भने सात अर्ब २२ करोडको भएको र सातै प्रदेशमा पत्र पठाइएको भए पनि सबै विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ताले बताएका छन् । एउटै बालीमा र प्रारम्भिक विवरणअनुसार करिब १० अर्ब रुपैयाँको क्षति भएको अवस्था निश्चय नै सामान्य होइन । त्यही विवरण भन्छ अहिलेसम्म सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ९३ हजार पाँच सय ७६ हेक्टरमा असर गरेको पाइयो । यो प्रदेशमा मात्रै प्रतिटन २८ हजार रुपैयाँका दरले चार अर्ब ५१ करोड ४२ लाख रुपैयाँको क्षति भएको बताइएको छ ।
मन्त्रालयका अनुसार लुम्बिनीमा पनि सबैभन्दा बढी बर्दियामा ११ हजार पाँच सय ४० हेक्टरमा फलेको एक अर्ब ३५ करोड ७१ लाख रुपैयाँको धानबाली नष्ट भयो । दोस्रोमा कपिलवस्तुमा १० हजार छ सय ९६ हेक्टरमा फलेको एक अर्ब १३ करोड ८० लाख रुपैयाँबराबरको धान नष्ट भएको छ ।
खाद्यान्न बालीको यस्तो क्षतिले यसपछिका दिन खेतीकिसानी गर्नेहरूको पेट कसरी पालिएला भन्ने चिन्ता बढेको छ । डुबेका धानका पाँजा हेर्दै किसाहरू भक्कानिएका दृश्य सामान्य छैनन् । प्रधानमन्त्री आफैँ पुगेका ठाउँका पीडित किसान समेत सरकारले केही गर्छ भन्नेमा आश्वस्त देखिएनन् । अहिलेसम्म सरकारले मृतकहरूका परिवालई किरिया खर्च मात्रै दिएको छ । बालीनालीको क्षतिको पनि कुनै न कुनै प्रकारले बन्दोबस्ती हुनेछ र भोकै मर्न दिइने छैन भन्ने सन्देश दिनु खाँचो थियो । त्यो भएको छैन । यो भनेको राज्यविहीनताको चित्र हो । पीडित नागरिकलाई कुनै प्रकारले सान्त्वना दिन सकिएन भने अर्को अन्यथा हुन सक्छ । विगतमा त्यस्ता घटना भएका छन् र छिमेकी मुलुकबाट पनि अनुभव लिन सकिन्छ । त्यस्तो दुःखद अवस्था नआओस् भन्नेतर्फ राज्य चलाउनेहरूको ध्यान जानुपर्छ ।