काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैरशुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरसम्बन्धी परिपत्रबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेकोमा विरोध जनाएको छ ।
महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले गएको असोज ६ गते उक्त परिपत्र जारी गरेको थियो । खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघलगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बीमितले विमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरूको राखिएका छन् ।
यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघले माग गरेको छ । यसैगरी बजारमा प्रतिस्पर्धा निरुत्साहित हुनेगरी नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरूलाई गैरशुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिस्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यावसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवालासमक्ष महासंघले आग्रह गरेको छ ।