काठमाडौं । पछिल्लो समय अर्थात् साउनको पहिलो दिनदेखि असोज महिनाको अन्तिम दिनसम्मको आयात र निर्यातको अवस्थालाई हेर्न हो भने चित्र राम्रो देखिँदैन । विगतको तुलनामा निर्यात केही बढेको देखिन्छ । यो राम्रो पक्ष हो तर सवाल हुन्छ त्यो कति टिक्छ भन्ने । थोरै मात्रामा भए पनि निर्यात बढेको त देखिन्छ तर त्यो कुनै आफ्नो देशको उत्पादन होइन । आयात नै भएको वस्तु हो । विभागका अनुसार बितेको तीन महिनामै व्यापारघाटा चार खर्बभन्दा बढी पुग्यो । यसबीचमा करिब २५ अर्बको मूल्यबराबर आयात भएको सोयाबिन र पाम तेलको निर्यात ६५ अर्ब पुग्यो । यही वस्तुले मात्रै निर्यातको मात्रा बढाएको अवस्था छ । दुईवटा वस्तुको निर्यात अंक ६५ अर्ब पुग्नुले निर्यात व्यापारलाई बढाएको देखाउँछ नै तर यो आत्मनिर्भर हुने वस्तु होइन । केही पहिले छिमेकी देश भारतले यसको आयातमा रोक लगाइदिँदाको नोक्सानी सम्बन्धित क्षेत्रका व्यवसायीहरूले अझै बिर्सिएका छैनन् होला । यो व्यवसायीले मात्रै होइन मुलुकले नै पनि बिर्सन नहुने विषय हो ।
भन्सार विभागको अभिलेखमा रहेको असोजसम्मको आयात निर्यातको तथ्यांकले चालू आार्थिक वर्षको बितेका तीन महिनामा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजारको वस्तु आयात भयो । भदौसम्म तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख नौ हजारको आयात भएकोमा असोजको एक महिनामा नै एक खर्ब ६५ अर्बभन्दा बढी आयातको भार थपियो । यो भनेको अघिल्लो वर्षको यसै समयको तुलनामा ६३ दशमलव ७३ प्रतिशतले आयात बढेको अवस्था हो ।
अघिल्लो वर्षको यही समयमा आयातको अंक दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको थियो । यो ठाउँमा थोरै मात्राको सुखद पक्ष हो निर्यातमा पनि वृद्धि भएको देखिन्छ । सरकारी निकायका तथ्यांकअनुसार चालू आवको यो अवधिमा एक सय नौ दशमलव ५४ प्रतिशतले बढेर निर्यात ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजार पुगेको छ । अघिल्लो वर्षको यो अवधिमा निर्यातको अंक ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको थियो । यसले व्यापारघाटा बढ्दै गए पनि निर्यात पनि हुँदै छ है भन्ने संकेत त दिन्छ तर यस्तो निर्यातका वस्तु भने कति स्थिर होलान् भन्ने निश्चित नभएकाले ढुक्क हुने अवस्था भने छैन नै
निर्यातमा एक सय नौ प्रतिशतले बढोत्तरी हुँदा यता घाटा भने यस्तो वृद्धि भएकै समयमा पनि ५८ दशमलव २८ प्रतिशत रहेको छ । यो सामान्य कुरा होइन । कुनै वस्तु आयात गरेर त्यसमा अलिकति केही फेरबदल गरेर निर्यात गर्दा अंकमा बढी देखिएला निर्भरता भने भरपर्दो हुँदैन । तथ्यांकले पनि त्यसै भन्छन् । यो समयको उल्लिखित ६५ अर्बको निर्यात हुँदा (२२ अर्ब) सोयाबिन तेल र (साढे १३ अर्ब) पाम तेलको भार करिब ३५ अर्बको देखियो । यी दुवै वस्तु तेस्रो मुलुकबाट आयातित हुन् । भन्सार विभागको विवरणअनुसार यी दुवै वस्तु अधिक आयातित हुनेमध्ये सर्वाधिक पाँच वस्तुभित्र परेका देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार यो समयमा २० अर्ब ६० करोडको प्रशोधन नगरेको सोयाबिन तेल आयात भयो भने १३ अर्बको कच्चा पाम तेल आयात भएको छ । आयात र निर्यातको यो चक्रलाई एक ठाउँमा राख्दा आएको यो चित्रले व्यापारघाटाको अवस्थालाई दयनीय बताउँछ ।