काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क बस सेवा सञ्चानल गरेको छ ।
प्राधिकरणले विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले उक्त सेवा प्रदान गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोमबार विमानस्थलमै पुगेर उक्त सेवाको प्रारम्भ गरेका हुन् । बस सेवाको शुभारम्भ गर्दै मन्त्री आलेले आन्तरिक उडानका यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको बताए । साथै उनले थप दुईवटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई निर्देशन दिए । यस्तै उनले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवनअगाडि यात्रुको सुविधाका लागि संरचना बनाउन समेत निर्देशन दिएका छन् । मन्त्री आलेले यात्रुले आफ्नो ब्याग बिसाएर गाडी कुर्न उपयुक्त हुने खालको संरचना बनाउन प्राधिकरणलाई निर्देशन दिएका हुन् । संरचना निर्माणको काम मंगलबारबाट सुरु हुने बताइएको छ ।
यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । निःशुल्क बससेवा सुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरी टर्मिनल पुग्नुपर्ने यात्रुले सवारीसाधन प्रयोग गर्न सक्नेछन् । साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तव्यसम्म जान सक्नेछन् । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीनवटा बस गोल्डेन गेटमा र सोही संख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिने बताए ।
खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टका साट गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ गह्रुँगो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको उनको भनाइ छ । यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नुपरेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।