काठमाडौं । आरटीजीएस प्रणाली शनिबार पनि खुल्ला हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २४ गते बुधबारका दिन विकास ऋणपत्र २०७८ ‘ङ’ र कात्तिक २७ गते शनिवार विकास ऋणपत्र २०८६ ‘ख’को ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ला हुने भएको हो ।
यसैगरी राष्ट्र बैंकले मंगलबार नै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै यही कात्तिक २५ गते बिहीबार र यही कात्तिक २६ गते शुक्रबारका दिन सार्वजनिक विदा परेका प्रदेशका राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयका राजस्व बुझ्ने काउन्टरहरु, राजस्व बुझ्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु एवं नेपाल राष्ट्र बैंक पूर्णकालीनरुपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
बिहीबार फेरि २० अर्बको रिपो : नेपाल राष्ट्र बैकले आगामी बिहीबार पुनः २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अल्पकालीन अर्थात् १४ दिने अवधिको रिपो जारी गर्न लागिएको हो ।
रिपोको परिपक्व हुने अवधि यही मंसिर ९ गते तोकिएको छ । यसअनुसार रिपो खरिदका लागि बोलकबोलमार्फत यही कात्तिक २५ गते बिहीबार अपराह्न २ बजेसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आवेदन पेश गर्नुपर्नेछ । वित्तीय प्रणालीमा अहिले तरलता अभाव रहेको र त्यो अभावलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले अल्पकालीन अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।