काठमाडौं । प्राइम कमर्सियल बैंकले १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक २२ गते बसेको सञ्चालक समितिको चार सय ३३औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने ९७ करोड ७९ लाख ३४ हजार छ सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब एक करोड ७६ लाख ३४ हजार नौ सय १० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार नौ सय रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा एक खर्ब ५९ अर्ब २२ करोड ९२ लाख ५१ हजार एक सय १९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब ७७ करोड ७७ लाख २४ हजार ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४० करोड १८ लाख ८६ हजार सात सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।