काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । न्यू अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी आठ करोड ३४ लाख रुपैयाँको शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश र १६ दशमलव ९० प्रतिशत बोनस सेयर समेत गरी कुल १७ दशमलव ७८ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।
सभाले आव २०७७–०७८ सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरू तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरू संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।
सभाले संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना सञ्चालकहरूमा उदयनारायण बराल, अशोक गौतम, राजुप्रसाद अधिकारी र विजयकुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।
२०७३ कात्तिक २२ गते स्थापित संस्थाको छैटौँ स्थापना दिवसका दिन सम्पन्न उक्त साधारणसभामा सहभागी सेयरधनीहरूले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।