काठमाडौं । सरकारले कोभिड १९ को महामारीबाट प्रभावित परिवारलाई विभाजन गरी राहत वितरण गर्ने भएको छ । सरकारले कोभिडबाट प्रभावित परिवारलाई एक पटकको लागि पाँच अर्ब वितरण गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । कोभिड महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गरिन लागिएको हो ।
सरकारले कोभिडको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब पाँच लाख परिवारलाई चालू आर्थिक वर्ष ०७८/७९ मा राहतस्वरुप एक पटकका लागि प्रतिपरिवार १० हजारका दरले नगद अनुदान प्रदान गर्नलागेको हो । मन्त्रालयले नगद राहत प्राप्त गर्नयोग्य लाभग्राही र नगद राहत प्राप्त गर्न अयोग्य परिवार भनी विभाजन गरी नगद प्रदान गर्नलागेको हो ।
विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाल, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया र कोभिड संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवार नगद राहत प्राप्त गर्नयोग्य लाभग्राहीको सूचीमा राखेको छ ।
यस्तै निवेदन दिँदाको समयमा निवेदनको एकाघर परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघ संस्था वा वैदैशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजागरीको अवसर प्राप्त गरी आय आर्जन गरिरहेको, परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपांग) बापतको भत्ता वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको, सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्नसक्ने अवस्थामा रहेको र प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रमबमोजिम यस प्रयोजनका लागि एकपटक राहतको रुपमा नगद प्राप्त गरेको परिवार नगद राहत प्राप्त गर्न अयोग्य परिवार अर्थात् लाभग्राहीको सूचीमा राखेको छ । यसरी योग्य तथा अयोग्य नभएका शर्तहरु पूरा गरी कोभिड प्रभावित परिवारका एक सदस्यले १५ दिनभित्र (मंसिर १० गते) सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । निवेदकको हकमा भने आफू स्थायी वा अस्थायी (न्यूनतम विगत ६ महिनादेखि) रुपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८’ को अनुसूची २ बमोजिम निवेदन पेश गर्नु पर्ने हुन्छ ।
कात्तिक तेस्रो साता ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८’ राजपत्रमा प्रकाशित गरिसकेको छ । अर्थमन्त्री जर्नादन शर्माले बजेट प्रतिस्थापन विधेयकमा समेत अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने उल्लेख गरेका थिए । योसँगै कोभिडका कारण अतिविपन्न बन्नपुगेका परिवारले नगद प्राप्त गर्ने निश्चित भएको छ ।