काठमाडौं । बागमती प्रदेशका औद्योगिक क्षेत्रमा कर्जा प्रवाह ९.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ९.७ प्रतिशले वृद्धि भई सात खर्ब ८२ अर्ब ९२ करोड पुगेको छ ।
सो कर्जा प्रवाह आर्थिक वर्ष ०७७/०७८ को अर्धवार्षिक अवधिमा भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८.८ प्रतिशतले वृद्धि भई छ खर्ब ५५ अर्ब ७९ करोड पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.६ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी छ खर्ब ७१ अर्ब ७२ करोड (८५.८ प्रतिशत) कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४४ करोड कर्जा (०.०६ प्रतिशत) लगानी रहेको छ ।
लगानीसँगै बागमती प्रदेशका उद्योगको औसत क्षमता उपयोग समेत बढेको अध्ययनले देखाएको छ । करिब सात प्रतिशतले उद्योगको औसत क्षमता उपयोग बढेको छ । समीक्षा अवधिमा यस प्रदेशका नमूना छनौटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८.९१ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा नमूनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४१.४५ प्रतिशत रहेको थियो । बियर उद्योगले सबैभन्दा बढी १५५.६६ प्रतिशत क्षमता उपयोग गरेको छ भने अन्य रासायनिक पदार्थअन्तर्गत ट्याब्लेटको क्षमता उपयोग सबैभन्दा कम ८.८१ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा अध्ययनले समेटेको यस प्रदेशका उद्योगमध्ये पशुदाना उत्पादन ३२.३ प्रतिशत, चाउचाउ उत्पादन ५.७ प्रतिशत, चुरोट उत्पादन १०.३ प्रतिशत, इँट्टा उत्पादन ३६.९ प्रतिशत, गार्मेन्ट उत्पादन १४.८ प्रतिशत, सिमेन्ट उत्पादन २२.७ प्रतिशत र रङ उत्पादन १८.३ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ८.२ प्रतिशत, बियर उत्पादन ३१.५ प्रतिशत, हल्का पेयपदार्थ उत्पादन ९.१ प्रतिशत र कपडाको जुत्ता उत्पादन १८.१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा अध्ययनले समेटेको यस प्रदेशभित्र सञ्चालित उद्योगहरुले सात हजार नौ सय २८ जना नेपाली नागरिकहरु र एक सय ३८ जना विदेशीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।
बागमती प्रदेशमा अवस्थित उद्योगहरुको चुनौतीको रुपमा औद्योगिक आपूर्ति शृंखला प्रभावकारी बनाई समग्र औद्योगिक उत्पादन वृद्धि गर्नु, औद्योगिक सीप विकास तालिममार्फत उद्योग क्षेत्रमा कार्यरत श्रमिकको क्षमता अभिवृद्धि गर्नु र औद्योगिक श्रम सम्बन्धमा सुधार ल्याई औद्योगिक क्षेत्रमा गैर–व्यावसायिक जोखिम कम गर्नु, लागत तथा गुणस्तर व्यवस्थापन गर्दै आयातित वस्तुसँग औद्योगिक उत्पादनलाई प्रतिस्पर्धी बनाउनु रहेको छ । उद्योग तथा व्यवसाय स्थापना गर्दाको स्थिर लागतमा कमी ल्याउन जमिनको मूल्यमा स्थायित्व ल्याउनु, विशेष आर्थिक क्षेत्र, निर्यात प्रशोधन केन्द्र र औद्योगिक क्षेत्रमा पूर्वाधार विकास गरी उद्योगहरुलाई यस्ता क्षेत्रमा सञ्चालन गर्न प्रोत्साहित गर्नु, उद्योगसम्म सडक तथा बाटोको पहुँच पु¥याउनु, कृषि उत्पादनलाई उद्योगसँग जोड्नु र उद्योगलाई सस्तो दरमा विद्युतीय ऊर्जा नियमित उपलब्ध गराउनु र नीतिगत तथा कानुनी सुधार गरी उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आकर्षण गर्नु यस प्रदेशमा अवस्थित उद्योगहरुका लागि चुनौती रहेको छ ।
यस प्रदेशमा अवस्थित उद्योगहरुको सम्भावनाको रुपमा यस प्रदेशमा जनघनत्व बढी भएका कारण औद्योगिक उत्पादनको बजार उच्च रहेको छ, उद्योगको विकास र विस्तार गरी रोजगारीको अवसर वृद्धि गर्न सकिने सम्भावना, विद्युत् उत्पादन, पानी प्रशोधन, खाद्य प्रशोधन तथा पेयपदार्थ उद्योगको सम्भावना उच्च रहेको छ, सहुलियतपूर्ण ऊर्जा आपूर्तिमार्फत उद्योगका लागत कम गरी प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न सकिने सम्भावना रहेको छ र प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका जिल्लामा ढुंगा, बालुवा गिट्टी उत्खनन गर्ने उद्योग स्थापना गर्न सकिने सम्भावना रहेको छ ।
बढ्दो उद्योग र जनघनत्वलगायतका कारणले गर्दा यस प्रदेशमा यातायात साधन संख्या समेत ४.८५ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । बागमती प्रदेशमा रहेका १३ वटा जिल्ला (काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, रामेछाप र चितवन)मा औद्योगिक वातावरणका लागि सहजपूर्ण पूर्वाधारको विकास हुँदै गएको छ । सरकारले पछिल्लो समय बजेटमार्फत समेत काठमाडौंमा रहेका उद्योग मकवानपुर जिल्लामा प्रतिस्थापन गरेमा सहुलियत प्रदान गर्ने समेत बताएको छ ।