काठमाडौं, माघ १७
फ्रान्समा आगामी मार्च महिनामा हुनलागेको निर्वाचनमा नेपाली मूलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए समूहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानीय तहको निर्वाचनका लागि हाल बसोबास गरिरहेको ओभरभिलिय नगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवारी दिएको अर्यालले बताए ।
फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशानदनी जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका हो । यस नगरपालिकामा करिब ८५ हजार जनसंख्या रहेको छ । फ्रान्समा ३५ हजारभन्दा बढी स्थानीय तह रहेको छ जसमध्ये ८५ प्रतिशत गाउँपालिका रहेका छन् । एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षकसमेत रहेका अर्याल फ्रान्सकै एक प्रतिष्ठित इन्स्योरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियर हुँदै खरिद प्रमुखको रूपमा कार्यरत रहेका छन् । अर्यालको जन्म नेपालको गोरखा जिल्लामा भएको हो । उनको प्राथमिक तथा उच्चशिक्षा भने फ्रान्समै पूरा भएको थियो । उनको समूहलाई चुनावी मैदानको दौरानमा आवश्यक पर्ने आर्थिक संकलन र परिचालनको जिम्मा पनि उनै अर्याललाई दिइएको छ ।
यो समूहको मूल नारा ‘एक दिगो र साझेदारी परियोजनाको लागि’ भन्ने रहेको छ । फ्रान्सको स्थानीय तहको समयावधि ६ वर्षसम्मका लागि हुनेछ । निर्वाचनको पहिलो चरणमा अत्यधिक बहुमत ल्याउने अर्थात् ५० प्रतिशतभन्दा माथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ । पहिलो चरणमा अत्यधिक बहुमत नआए न्यूनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरू मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।
दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपङ्क्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनुपर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समूहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ । ओभरभिलिय सहरमा नगरपरिषद्को संख्या ५३ जनाको रहेको छ । फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुख को बन्ने भन्ने कुरा हरेक पार्टी अथवा समूहले घोषणा र दर्ता गर्नुपर्ने हुन्छ । नगरप्रमुखबाहेक अरु पदहरू निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । तर अर्यालको भने उपप्रमुखमा लगभग पक्का भइसकेको छ ।