काठमाडौं । नेपालको स्थापित ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नयाँ प्याकेजिङ सार्वजानिक गरेको हो । २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । खुकुरी रम उत्पादन गर्ने कम्पनी ‘द नेपाल डिस्टिलरिज’ सन् १९५९ मा स्थापना भएको हो ।
कम्पनी स्थापनाको ६२औँ वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रुपमा बजारमा उतारेको हो । लण्डनको विश्वविख्यात कम्पनीले नयाँ प्याकको डिजाइन गरेको हो ।
खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएका हुन् ।
प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् ।