सुबास बस्नेत
दोलखा, माघ १७
चरीकोटदेखि तामाकोशी बजारसम्मको १७ किलोमिटर सडक फागुन महिनाको पहिलो सातादेखि कालोपत्रे हुनेभएको छ । १७ किलोमिटर सडक आसपासको सामुदायिक वनभित्र पर्ने रुख कटान गरी सडक विस्तारको काम अन्तिम चरणमा पुगेको हुँदा अब कालोपत्रको काम सुरु गर्ने तयारी भएको लामा कन्स्ट्रक्सन निर्माण कम्पनीले जनाएको छ ।
गत वर्ष ठेक्का सम्झौता गरेर सडक निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सन सडक निर्माण कम्पनीले चरीकोटदेखि तामाकोशी नदीसम्मकोको १७ किलोमिटर सडकको दायाँबाया कटानको काम र सडक ग्याबेनको काम करिब अन्तिम चरणमा पुगेको हुँदा अबको केही महिनादेखि पीचको काम सुरु हुने बताएको छ । अहिले सडकमा ग्रेडिङ मिलाउने काम भइरहेको आयोजनाका इन्चार्ज रविन्द्र श्रेष्ठले आर्थिक दैनिकलाई जानकारी दिए । उनका अनुसार जिल्ला वन कार्यालयले रुख कटानको अनुमति दिन ढिला गरेको हुँदा कालोपत्रको काम केही पछि धकेलिएको हो ।
आयोजनाले ५५ किलोमिटर सडक विस्तारको काम एकैपटक सुरु गरे पनि कालोपत्रे भने तीन चरणमा गर्ने भएको छ । पहिलो चरणमा चरीकोटदेखि तामाकोशी, दोस्रो चरणमा तामाकोशीदेखि मैनापोखरी र तेस्रो चरणमा मैनापोखरीदेखि जिरीसम्म गर्ने जनाएको छ । सडक निर्माण गर्न एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋण सहयोगमा निर्माण गर्न लागिएको हो । लामा कन्स्ट्रक्सनले दुई अर्ब २८ करोडमा निर्माण गर्नेगरी सम्झौता गरेको छ । आयोजनाका अनुसार गत वर्षको पुसमा भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको हो ।
दुई अर्ब २८ करोडमा निर्माण सम्झौता भएको यस खण्डमा छ किलोमिटरमा ग्रेडिङ गरिएको छ भने करिब ५ किलोमिटर सडकमा तीनवटा बेसको ग्राभेल बिछ्याएर कालोपत्रेको तयारी भइरहेको लामा कन्स्ट्रक्सनका प्रमुख जिपछिरिङ लामाले जानकारी दिए । लामोसाँघु–जिरी सडक ३५ वर्षअघि स्वीस सरकारले निर्माण गरेको सडक हो । अहिले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकभित्रका करिब २६ सय रुख कटान र तीन सय ६३ वटा विद्युत्को पोल हटाउने काम सकिएको छ ।