काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार छ सय ९० दशमलव २९ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय दुई दशमलव १९ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख २३ हजार पाँच सय २४ पटकको कारोबारमा दुई करोड ८६ लाख चार सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब छ करोड ८० लाख ५१ हजार एक सय ९० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ८३ हजार नौ सय १२ पटकको कारोबारमा चार करोड ७२ लाख ७५ हजार छ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब २२ करोड ७५ लाख १३ हजार तीन सय ११ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्य दिन मात्र खुल्ला रहेको थियो ।
पहिलो र चौथो दिन सार्वजनिक विदा परेकाकारण नेप्से बन्द रहेको थियो भने दोस्रो, तेस्रो र पाँचौँ दिन नेप्से घटेको थियो । जसमध्ये दोस्रो दिन बजार परिसूचक १९ दशमलव दुई अंकले ओरालो लागेर दुई हजार आठ सय २९ दशमलव ६४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंंकले ओरालो लागेर पाँच सय २८ दशमलव ३७ विन्दुमा झरेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक ७९ दशमलव ७९ अंकले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ८५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव दुई विन्दुले ओरालो लागेर पाँच सय १२ दशमलव ८२ विन्दुमा झरेको थियो । चौथो दिन सार्वजनिक विदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । पाँचौ दिन भने बजार परिसूचक ५९ दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार छ सय ९० दशमलव २९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६३ विन्दुले ओरालो लागेर पाँच सय दुई दशमलव १९ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सूचीमा नबिल, बैंक, महालक्ष्मी विकास बैंक, अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । नेप्सेका अनुसार यस साता इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीको साधारण तथा हकप्रद सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ ।