काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेस गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरूबारे प्रकाश पारेका छन् ।
उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूबारे पनि प्रस्ट पारे । संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरू पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटनपश्चात् सम्बोधन गर्दै प्रमुख अतिथि रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धिसँगै कर्जाको गुणस्तरीयतामा जोड दिँदै लगानीकर्ता, ग्राहक सदस्यहरू तथा संस्थामा कार्यरत कर्मचारीहरू समेत लाभान्वित हुने गरी कार्य गर्न सुझाव दिए ।
सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम आव २०७७/७८ को मुनाफाबाट एक दशमलव ३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने, चुक्ता पुँजी २६ करोड ७१ लाख ३१ हजार दुई सय रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरू एक–आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने तथा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरूअनुरूप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पूरा गरी अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरूबाट निर्देशन गरेबमोजिमका विवरणहरू उपलब्ध गराउनेलगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्नेलगायत आर्थिक वर्ष २०७८/७९ का निम्ति बाह्य लेखापरीक्षकका रूपमा श्री केएमयू एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्तिको प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाबाट संथापक सेयरधनीको तर्फबाट सञ्चालकमा निर्गुणप्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन र श्री कविता पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । साथै सोही दिनमा बसेको सञ्चालक समितिको बैठकले निर्गुणप्रसाद भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
२०७३ भाद्र १५ गतेदेखि कारोबार सुरु गरेको संस्थाको हालसम्ममा ६७ हजार ग्राहक सदस्यमार्फत चार अर्ब ४६ करोड कर्जा लगानीमा रहिरहेको तथा एक अर्ब ४२ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिएका छन् ।