अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ खर्ब अमेरिकी डलरको पूर्वाधार विधेयकमा हस्ताक्षर गर्दै कानुनको रुप दिएका छन् । यो उनको ठूलो उपलब्धिका रुपमा लिइएको छ ।
‘आज हामीले यसलाई पूर्णता दिएका छौँ’, डेमोक्रेटिक र रिपब्लिकन पार्टीका सांसदहरुसँगै विधेयक प्रमाणीकरण गर्दै सोमबार ह्वाइटहाउसमा बाइडेनले भने । यो विधेयककै कारण बाइडेनकै पार्टीभित्र समेत विवाद भएको थियो । यही महिना भएका चुनावमा पार्टीले व्यहोरेको हारलाई पनि यसकै कारण मानिएको छ । यसबाहेक अर्को ठूलो विधेयक पनि संसदमा विचाराधीन छ ।
यसलाई बाइडेनले एक पुस्तामा आउने एउटामात्रै पूर्वाधार कानुन मानिएको छ । यसले आगामी आठ वर्षभित्र हाइवे, सडक, पुललगायत पूर्वाधार बनाउन पाँच सय ५० अर्ब डलर खर्च उपलब्ध गराउनेछ । त्यस्तै स्वच्छ खानेपानी, उच्चगतिको इन्टरनेट, विद्युतीय गाडीको नेटवर्कको चार्जिङ पोइन्ट समेत बनाउनेछ ।