काठमाडौं । युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ ।
बैंकका अनुसार यो सम्झौताले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवाहरूलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु-याई युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्नेछ ।
राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतननाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।