विराटनगर । पूर्वाधार निर्माणको कामदेखि निजी गृह निर्माणको काम सुरू हुने सिजनमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले फलामजन्य निर्माण सामग्रीको भाउमा एक्कासि वृद्धि गरेका छन् ।
दशैँ, तिहार तथा छठजस्ता चाडपर्व समाप्त भएसँगै सुरु हुन लागेको पूर्वाधार निर्माणको सिजनको मौका छोपी उद्योगीहरूले निर्माण सामग्रीको अत्यधिक रूपमा मूल्यवृद्धि गरी उपभोक्ताको ढाड सेक्ने नीति अख्तियार गरेका छन् ।
कोभिड, वर्षाको समयलगायतको कारण लामो समयदेखि रोकिएको निर्माणकार्यको सिजन सुरू हुन थालेको छ । उद्योगीहरूले सरकारले करवृद्धि गरेको बहाना बनाएर निर्माण सामग्रीका रूपमा प्रयोग हुने मुख्य फलामे डन्डीमा व्यापक रूपले मूल्यमा वृद्धि गरेका हुन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा फलामे डन्डीको उद्योग सञ्चालन गर्दै आएका पशुपति आइरनका सञ्चालक पशुपति मुरारका र कमला रोलिङ मिलका सञ्चालक तुलसीराम अग्रवालले कार्टेलिङ गरी अहिले फलामे छडको मूल्य प्रतिकेजी २० देखि ३० रूपैयाँसम्म बढाएका हुन् ।
डन्डीका उद्योगीहरू भने सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातमा उल्लेख गरिएको नीतिले फलामजन्य सामग्रीको मूल्यवृद्धि भएको बताउँछन् । एक व्यवसायीका अनुसार सरकारले जारी गरेको अध्यादेशबाट फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी १५ देखि २५ रूपैयाँसम्म कमी आउने अपेक्षा गरिएको थियो । तर उद्योगीहरूले सरकारले ल्याएको प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरिद गर्दा प्रतिकेजी ७९ रूपैयाँ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी ८३ रूपैयाँ मूल्य कायम रहेकोमा हाल मूल्यवृद्धि गरी एक सय छ रूपैयाँदेखि एक सय १० रूपैयाँसम्म पु-याएका छन् । सरकारले ल्याएको नीतिअनुसार रोलिङ मिल्सहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उत्पादन नै रोक्न थाल्दा डन्डी उत्पादन गर्दै आएका उद्योगीहरूले मूल्यमा कार्टेलिङ गरी जथाभाबी मूल्यवृद्धि गरेको उपभोक्ताहरूको आरोप छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा डन्डीको उद्योग सञ्चालन गर्दै आएका उद्योगी तुलसीराम अग्रवाल तत्कालीन केपी ओली सरकारका अर्थमन्त्री युवराज खतिवडासँग सेटिङ गरी आफूले नेपालमा आयात गर्दै आएको चकलेटमा लाग्दै आएको भन्सार दरबन्दीलाई घटाउनेदेखि नेपालमा आयात हुँदै आएको विद्युतीय सवारीमा भन्सार दरबन्दी बढाउने खेलमा संलग्न उद्योगी हुन् ।
त्यसैगरी करिडोरका उद्योगीहरूको समूहमा जहिले पनि आलोचित र विवादित बन्दै आएको मुरारका समूहले सञ्चालन गर्दै आएको पशुपति आइरनका सञ्चालक पशुपति मुरारका पनि उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका उद्योगी हुन् । दुवै उद्योगी पावरवाला भएको कारण कार्टेलिङमा माहिर छन् । उनीहरूकै योजनाअनुसार पछिल्लो समय फलामे डन्डीमा मनपरी मूल्य कायम गरिएको उपभोक्ताहरूले बताउने गरेका छन् ।