विराटनगर । सुपारी र पोस्ताको कारोबार गर्ने व्यवसायीले पछिल्लो समय अवैध बाटो हुँदै भारत निकासी गर्दा हुण्डीबाट कारोबार गर्नेगरेको नयाँ तथ्य खुलेको छ । व्यापारीहरूले सरकारी कोटाबाट सुपारी र पोस्ता नेपालमा आयात गरी अवैध रूपमा भारत निर्यात गर्दै आएका छन् ।
सरकारबाट बाहिरिन लागेको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुपारी र पोस्तादाना आयातका लागि कोटा निर्धारण गरेका थिए । तेस्रो मुलुकबाट आयात गरी नेपाली सुपारी बनाएर अवैधानिक रूपमा भारत पठाउन पल्केका व्यवसायीहरूले अर्बौँ रुपैयाँभन्दा बढी गैरबैंकिङ प्रणाली अर्थात् हुण्डीबाट रकम भित्र्याउने गरेको नयाँ तथ्य खुलेको हो ।
स्रोतका अनुसार सुपारी आयातमा लागेको सरकारी प्रतिबन्ध हटाउन सफल बनेका सुपारी व्यापारीहरूले तीव्र रूपमा इन्डोनेसियाबाट सुपारी आयात गरी नेपाल भित्र्याइएका थिए । सरकारी अधिकारीसँगको मिलेमतोमा नै मुलुकलाई आवश्यक नै नभएकोे सुपारी आयात अनुमति पाउन सफल भएका व्यवसायीले प्रतिटन एक हजार ५० डलर मूल्य देखाएर सुपारी ल्याएका छन् । इन्डोनेसियामा उक्त सुपारीको मूल्य न्यूनतम एक हजार पाँच सय डलरदेखि अधिकतम दुई हजार पाँच सय डलरसम्म प्रतिटन रहेको छ ।
सुपारी व्यवसायीले नेपाल भन्सारमा देखाएको मूल्यबराबरको रकम बैंकिङ प्रणालीबाट जाने गरेको भए पनि त्यति नै बराबरको रकम भने अवैध बाटो हुँदै हुण्डीबाट विदेश जाने र उक्त फरक भएको रकम हुण्डीमार्फत नै नेपाल भित्रिने सुपारी व्यवसायीले दाबी गरेका छन् । यसरी फरक भएको रकमको अनुसन्धान तथा खोजीकार्य गर्ने नेपाल सरकारका निकाय समेत मौन बसेपछि पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगर नै हुण्डी कारोबारीका लागि उद्गमस्थल बन्न पुगेको छ । विगत केही वर्षदेखि बन्द रहेको सुपारी आयात खुलाउन सफल भएका सुपारी व्यवसायी समूहले नेपालका विभिन्न भन्सार नाकाबाट २५ हजार मेट्रिकटन सुपारी भित्र्याउन सफल भएका थिए । प्रतिटन वास्तविक मूल्यमा पर्ने फरक बराबरको पैसालाई सुपारीको धन्दा गर्नेहरूले अवैध बाटो हुण्डीबाट पठाउने गरेको दाबी व्यवसायी उच्चस्रोतले गरेको हो ।
हालको भन्सार मूल्य र इन्ण्डोनेसियाको बजार मूल्यका हिसाबले आउने फरक करिब तीन अर्ब रुपैयाँभन्दा बढी हुनजाने र उक्त फरक पर्ने मूल्यबराबरको पैसा भने हुण्डीबाट विदेशमा भुक्तानी गरी अवैध बाटो हुँदै भारत निकासी गरी हुण्डीमार्फत नेपाल भित्रिसकेको दाबी उच्चस्रोतले गरेको छ । विगतमा पनि सुपारीको कारोबारमा संलग्न व्यवसायीले सरकारी निकायको कमजोरीको फाइदा उठाउने काम सुपारीको कारोबार गर्दा हुण्डीकै सहारामा रकम भुक्तानी गर्नेगरेको खुलेको हो ।