काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन सम्वन्धी प्रतिवेदनअनुसार २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले उक्त प्रदेशबाट परिचालन गरेको कुल निक्षेप २२ दशमलव चार प्रतिशतले बढेर तीन खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुका शाखा विस्तार, नेपाल सरकारले उपलव्ध गराउने पेन्सन लगायत विभिन्न सुरक्षा भत्ताहरु तथा भारत सरकारले अवकाशप्राप्त सैनिकहरुलाई प्रदान गर्ने पेन्सन बैक खातामार्फत उपलब्ध गराउन थालेकोले निक्षेपमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ५० दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा कुल कर्जा लगानी भने २७ दशमलव सात प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ३० दशमलव दुई प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा गण्डकी प्रदेशमा निक्षेपकर्ताहरुको कुल संख्या २०७७ असार मसान्तको तुलनामा १२ दशमलव नौ प्रतिशतले वृद्धि भई ४१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ३४ दशमलव पाँच प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा यस प्रदेशमा इन्टरनेट र मोबाइल बैंकिङ दर्ता गर्नेको संख्या क्रमशः ७० हजार ५४७ र १६ लाख ४४ हजार तीन सय ५४ पुगेको छ भने इन्टरनेट र मोबाइल बैंकिङमा सक्रिय प्रयोगकर्ताको संख्या क्रमशः ५० हजार आठ सुय १६ र १२ लाख ३६ हजार सात सय २८ पुगेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४९ वटा नयाँ शाखाहरु स्थापना भई एक सय ९० जनाले रोजगारी पाएका छन् । गोरखा जिल्लामा सबैभन्दा धेरै सातवटा शाखा विस्तार भएको छ भने लमजुङ जिल्लामा एउटा शाखा विस्तार भएको छ । नयाँ शाखा विस्तारबाट निक्षेप १० अर्ब ३४ करोड ४७ लाख परिचालन भई कर्जा रकम भने दुई अर्ब ४९ करोड ७५ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने एक हजार तीन सय ३६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी अर्थात् तीन सय ६३ वटा शाखा कास्की जिल्लामा रहेका छन् भने सबैभन्दा कम अर्थात् १७ वटा मनाङ जिल्लामा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको औद्योगिक क्षेत्रमा ६१ अर्ब ६९ करोडको कर्जा लगानी रहेको छ जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाकोे १९ दशमलव नौ प्रतिशत हो । यस अवधिमा गण्डकी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा २०७७ असार मसान्तको तुलनामा ५७ दशमलव एक प्रतिशतले वृद्धि भई २६ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २९ दशमलव सात प्रतिशतले वृद्धि भएको थियो । यस प्रदेशको कुल कृषि कर्जामध्ये करिब ५६ प्रतिशत कर्जा कास्की (३७ प्रतिशत) र नवलपरासी (पूर्व) (१८ दशमलव नौ प्रतिशत) जिल्लामा मात्रै प्रवाह भएको देखिन्छ ।
मनाङ र मुस्ताङ जिल्लामा क्रमशः शून्य दशमलव पाँच र एक प्रतिशत मात्र कर्जा प्रवाह भएकोले उक्त जिल्लाहरुलगायत अन्य जिल्लाहरुमा यस्तो कर्जा वृद्धि गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्ष बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा कृषि र वनसम्बन्धी शीर्षकमा २६ अर्ब १३ करोड र मत्स्यपालन व्यवसायमा २३ करोड कर्जा लगानी गरेका छन् । उक्त लगानी गत असार मसान्तको तुलनामा क्रमशः करिब ५७ दशमलव दुई प्रतिशत र करिब ४७ दशमलव छ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ ।