काठमाडौं, माघ १७
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको पाँचौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको विशिष्ट आथित्यतामा बुधबार वार्षिककोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले मर्चेन्ट बैंकिङलाई पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँदै यस क्षेत्रमा हुँदै आएका कामकारबाहीहरूलाई अझै पारदर्शीरूपमा देशका हरेक स्थानहरूबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी दिए । उनले मर्चेन्ट बैंकरहरूलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरूको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरूलाई सोसम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए ।
समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत साउदले धितोपत्र कारोबार सहज र सरलरूपमा गर्नको लागि अनलाइन प्रणाली लागू भैसकेको तथा बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरूको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा बेस तयार भइरहेको जानकारी दिए । मर्चेन्टका प्रमुख कार्यकारी बद्रीप्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको एक अर्ब ६० करोड रूपैयाँबराबरको प्रथमिक सेयर सर्वसाधारण समूहलाई निष्काशन गर्नको लागि आरबीबी मर्चेन्ट बैंकिङ लिसँग सम्झौता भएबमोजिम उत्त निष्काशनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरूसँग समन्वय गर्दै विभिन्न सम्झौतासमेत भइरहेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कम्पनीको पाँचौँ वार्षिकोत्सव समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्किरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरूलाई आत्मसात गरी आफूलाई पनि रावा बैंक जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए ।
कार्यक्रममा रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू टेकराजजोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, क्षेत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परीक्षण प्रमुख सञ्जयकुमार श्रेष्ठ, शाखा प्रबन्धक युवराज घिमिरेलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।