काठमाडौँ । घरजग्गाको मूल्यमा आएको उतारचढावले पनि मुद्रास्फीतिमा प्रभाव गर्नसक्ने भन्दै नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गरेका हुुन् । घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्नसक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति सम्बन्धमा जानकारी राख्नुपर्ने हुन्छ, सोही कारण पनि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले उक्त प्रतिवेदन तयार गरेको हो, गभर्नर अधिकारीले भने । यसका लागि घरजग्गा क्षेत्रको मूल्य सूचकांक निर्माण गरी घरजग्गा मुद्रास्फीति मापन कार्य आवश्यक भएको र मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको लागि समेत घरजग्गा मूल्य सूचकांक महत्वपूर्ण हुने गभर्नर अधिकारीको भनाइ छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिकरूपमा नियमित प्रकाशन गर्न लागिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । घरजग्गा मूल्यको तथ्यांक २० वटा जिल्लाका मालपोत कार्यालय र छवटा वाणिज्य बैंंकहरुबाट लिने गरी सर्वेक्षण सम्पन्न गरिएको छ । तथ्यांकका स्रोतबाट नमूनाहरू छनोट गर्दा धेरै नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यमा धेरैजसो कारोबार हुनेगरेको देखिएकोले त्यस्ता प्रतिएकाइ सममूल्य भएका नमूनामध्येबाट तुलनात्मकरूपमा थोरै पर्नेगरी नमूना छनोट गर्दा सूचकांक थप विश्वसनीय ठहर पनि राष्ट्र बैंकले गरेको छ । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–०७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको थियो भने मालपोत कार्यालयहरूबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशमलव ७३ प्रतिशत रहेको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७७–०७८ को प्रथम नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दशमलव ३१ प्रतिशत र १२ दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७–०७८ को प्रथम नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण कार्य सम्पन्न गरिएको हुँदा अन्य देशले जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई सूचकांकमा समावेश गर्न नसकिएको जानकारी पनि राष्ट्र बैकले दिएको छ । घरजग्गाको बढी कारोवार हुने स्थानहरू छिटोछिटो परिवर्तन हुने भएकोले अद्यावधिक मूल्य सर्वेक्षण कार्य पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने देखिन्छ । सर्वेक्षणको अन्तराल लामो भएमा एकातर्फ सूचकांकलाई चाहिने तथ्यांकको मात्रा अपुग भई सही सूचकांक नआउन सक्ने जोखिम हुन्छ भने अर्कोतर्फ लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई समायोजन गर्न ढिलो हुने प्रतिवेदनमा उल्लेख छ ।