काठमाडौँ ।नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्महयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८औँ हस्तकला व्यापार मेला र १६औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रूपमा नेपाल हस्तकला महासंघसँग सम्झौता गरेको छ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोणअनुरूप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रूपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ । एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ पार्टनरको रूपमा सहभागी हुन पाउँदा गौरभान्वित महसुस गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभागका प्रमुख डनिलले बताए । साथै, यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुनरुत्थान गर्न आर्थिक पहुँच पु-याई दक्ष जनशक्तिको रोजगारी सुनिस्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए । नेपाली हस्तकला उद्यम र व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिने राष्ट्रियस्तरका व्यापार मेलाहरूमा महासंघसँग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तररूपमा गरी आएको सहयोग र सहकार्यले उद्यमी एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक थापाले बताए । साथै, आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरेका छन् ।