काठमाडौं । प्रदेश नम्बर १ को उद्योग क्षेत्रमा कर्जा प्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । प्रदेश नम्बर १ को उद्योग क्षेत्रमा सोही प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ११.५ प्रतिशतले वृद्धि भई एक खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १९.५ प्रतिशतले बढेको थियो । सो कर्जा प्रवाह आर्थिक वर्ष ०७७/०७८ को अर्धवार्षिक अवधिमा भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।
कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तुसम्बन्धी उद्योगतर्फ सबैभन्दा बढी ५६ अर्ब ६१ करोड रुपैयाँ र विद्युत्, ग्यास तथा पानीतर्फ सबैभन्दा कम एक अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । समीक्षा वर्षमा प्रवाह भएको औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा सबैभन्दा बढी ४०.६ प्रतिशतले बढेको देखिन्छ भने निर्माणसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा सबैभन्दा कम ९ प्रतिशतले बढेको देखिन्छ । असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रका सबैभन्दा बढी ५९.७ प्रतिशत कर्जा प्रवाह भएको छ ।
प्रदेश १ मा कर्जा प्रवाह र उद्योगहरुको औसत क्षमता उपयोगमा भने कमी आएको अध्ययनले देखाएको छ । तोरीको तेल र वनस्पति घ्यू उत्पादन गर्ने उद्योगको क्षमता भने सबैभन्दा बढी र कम छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस प्रदेशका नमूना छनौटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५७.५ प्रतिशत रहेको थियो ।
तोरीको तेल उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९४.५ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ भने वनस्पति घ्यू उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.९ प्रतिशत छ । विगतमा उपभोक्ताहरुले सीमावर्ती भारतीय बजारबाट तोरीको तेल खरिद गर्ने गरेकोमा कोरोना महामारीका कारण घोषित निषेधाज्ञाले सीमावर्ती नाकाहरुबाट हुने आवागमन नियन्त्रण गरेकाले आन्तरिक उत्पादनको मागमा वृद्धि भई तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षको तुलनमा समीक्षा वर्षमा यस अध्ययनमा समेटिएका उद्योगहरुमध्ये तयारी कपडा उद्योगको क्षमता उपयोगको वृद्धि सबैभन्दा बढी ५५.५ प्रतिशत रहेको छ भने वनस्पति घ्यू उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ६१.४ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा अध्ययनले समेटेका उद्योगहरुमध्ये तयारी कपडा उद्योगको उत्पादन सबैभन्दा बढी ३८८.५ प्रतिशतले बढेको छ भने इँट्टा उद्योगको उत्पादन सबैभन्दा बढी ७६.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तयारी कपडाको उत्पादन ५९.४ प्रतिशतले घटेको थियो भने इँट्टा उत्पादनमा कुनै परिवर्तन आएको थिएन ।
कोभिड संक्रमणको कारण सीमानाका नियमित नहुँदा स्थानीय बजारमा आयातित तयारी कपडा कमी भई स्वदेशी लत्ताकपडाको माग बढेकोले तयारी कपडाको उत्पादन उल्लेख्य बढेको देखिन्छ । अधिकांश इँट्टा उद्योग भारतीय कामदारमा निर्भर रहेको तथा कोरोना महामारीका कारण सीमानाका बन्द भई भारतीय मजदुरको आवागमन सहज नहुँदा कामदार अभावले पूर्ण क्षमतामा इँट्टा उद्योग सञ्चालन हुन नसकी इँट्टाको उत्पादनमा कमी आएको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षको तुलनमा समीक्षा वर्षमा निर्यात हुने मुख्य वस्तुहरुमध्ये धागोको उत्पादन २६.६ प्रतिशत, फलामे छड तथा पत्ती (जस्तापातासहित)को उत्पादन १४ प्रतिशत, चाउचाउको उत्पादन १०.७ प्रतिशत तथा भटमासको तेल उत्पादन ५.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा धागोको उत्पादन १.१ प्रतिशत, भटमासको तेल उत्पादन ७१.६ प्रतिशतले बढेको थियो भने फलामे छड तथा पत्ती र चाउचाउको उत्पादन क्रमशः ४०.८ प्रतिशत र एक प्रतिशतले घटेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा चामल तथा वनस्पति घ्यूको उत्पादन क्रमशः २३.५ प्रतिशत र ८.९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चामलको उत्पादन ७०.१ प्रतिशतले बढेको थियो भने वनस्पति घ्यूको उत्पादन ६१.३ प्रतिशतले घटेको थियो । कमजोर गुणस्तरको धानको कारण सग्लो चामलको उत्पादन घटेकाले लागत वृद्धि भई आयातित चामलसँग प्रतिस्पर्धा गर्न नसकेकाले चामल उत्पादन घटेको देखिन्छ ।
भारतीय बजारमा वनस्पति घ्यूको मागमा कमी आएकोले वनस्पति घ्यू उत्पादन गर्ने उद्योगहरु पामतेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएकाले वनस्पति घ्यूको उत्पादनमा कमी आएको देखिन्छ ।
त्यस्तै, कोभिड १९ महामारीको प्रभावका कारण अन्य गैर–खाद्यवस्तुहरु उत्पादन गर्ने उद्योगहरु न्यून क्षमतामा सञ्चालन भएकोले उत्पादनमा कमी आएको देखिन्छ । टायर तथा ट्युब उत्पादन उद्योग, तयारी लत्ता कपडा तथा सिन्थेटिक कपडा उद्योगको उत्पादन बढ्ने अनुमान गरिएको छ ।
यस्तै नाकामा सहज भएसँगै भारतीय श्रमिक फर्किने र भारतीय श्रमिकले गर्ने काममा वैदेशिक रोजगारीबाट फर्केका श्रमिक आकर्षित हुनसक्ने अवस्था रहेकाले भारतीय श्रमिकमा निर्भर भएका उद्योगहरुको उत्पादन आगामी वर्ष वृद्धि हुनसक्ने देखिन्छ ।