काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकका अनुसार सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरू मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरिएको हो ।
बैंकले मंसिर ५ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रूपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड गरेको हो । ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड भएसँगै बैंकका ग्राहकहरूले बैंकका विभिन्न सेवाहरूसम्बन्धी जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, सेल्फ एकाउन्ट लिंक अनलाइन रकम भुक्तानीका साथै डिजिटल बैंकिङसम्बन्धी समस्या परेमा उजुरी दिनेजस्ता सेवाहरूको लाभ मोबाइल बैंकिङ एप र वेब ब्राउजबाट उठाउन सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले सेल्फ रजिष्टर गरी बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरू तथा डिजिटल बैंकिङ सेवाहरूसम्बन्धी जानकारी पाउन सक्नेछन् । यो सुविधा नयाँ प्रयोगकर्ताहरूले एप स्टोर अथवा प्ले स्टोरबाट एपलाई डाउनलोड गरी र पुराना प्रयोगकर्ताहरूले एपलाई अपडेट गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन् ।
बैंकले स्तरोन्नतिसँगै अब बैंकका ग्राहकहरूले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरू सहज रूपमा प्राप्त गर्नसक्ने विश्वास लिएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।