काठमाडौं । मुलुकले निर्यात व्यापारमा एक सय चार प्रतिशतले वृद्धि गरेको छ । चालू आर्थिक वर्ष ०७८/०७९ को प्रथम चौमासिकमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको निर्यात भएको छ । अघिल्लो महिनाहरुझैँ यस चार महिनाको अवधिमा सबैभन्दा बढी मूल्यमा भटमास तेल, पाम तेल, धागो, गलैँचा, जुटजन्य सामग्री, तयारी पोसक र सूर्यमुखी तेललगायतका उत्पादन निर्यात भएको भन्सार विभागले जनाएको छ ।
२६ अर्ब ४० करोड ११ लाख रुपैयाँको भटमासको तेल, १९ अर्ब दुई करोड ३० लाख रुपैयाँको पाम तेल, तीन अर्ब ८९ करोड आठ लाख रुपैयाँको धागो, तीन अर्ब ९३ लाख रुपैयाँको गलैँचा, दुई अर्ब ९५ करोड ५१ लाख रुपैयाँको जुट र दुई अर्ब ६७ करोड ४७ लाख रुपैयाँको तयारी पोशाक निर्यात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको विभागले जानकारी दिएको छ ।
निर्यात सँगसँगै आयात पनि उच्च रहेको पाइन्छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा छ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भएको छ । विभागका अनुसार चार महिनाको अवधिमा सबैभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलजन्य सामग्री, मेसिन र पार्टपुर्जा, सवारीसाधन र पार्टपुर्जा, भटमासलगायतका उत्पादन आयात गरिएको छ ।
७८ अर्ब एक करोड रुपैयाँको पेट्रोलियम पदार्थ, ६३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँको फलाम तथा स्टिलजन्य सामग्री, ४८ अर्ब ९७ करोड रुपैयाँको मेसिन र पार्टपुर्जा, ४४ अर्ब ५९ करोड रुपैयाँको सवारीसाधन र पार्टपुर्जा, २७ अर्ब २२ करोड रुपैयाँको भटमासको आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने चार खर्ब दुई अर्ब ४९ करोड रुपैयाँ आयात गरिएको थियो ।
हाम्रो नियति भनेको निर्यात न्यून र आयात उच्च हो । जुन कुरा यस वर्षको प्रथम त्रैमासिकमा पनि देखिएको छ । जसले गर्दा मुलुकले व्यापारघाटा व्यहोर्नुपरेको छ । प्रथम चार महिनामा पाँच खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको मुलुकले व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक वर्षको चार महिनाको अवधिमा तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा चार महिनाको अवधिमा चालू आर्थिक वर्षमा व्यापार घाटा ५७ प्रतिशतले बढेको छ ।
आयात–निर्यातको समग्र रुपमा देखा परेको वैदेशिक व्यापार भने सात खर्ब बढी रहेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा कुल वैदेशिक व्यापार भने ६५ प्रतिशतले बढ्दा सात खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कुल वैदेशिक व्यापार चार खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।