काठमाडौँ । माओवादी जनयुद्धसँगै रातारात धनी भएका विवादास्पद व्यवसायी अजेयराज पराजुली सुमार्गीले सरकारलाई तिर्नुपर्ने एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार रुपैयाँ रोयल्टी नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सुमार्गीले सञ्चालन गरेको हेलो नेपालको मातृकम्पनी नेपाल स्याटेलाइट प्रालिको लाइसेन्स रद्द गर्ने प्रक्रियामा जाने निर्णय गरेको छ । प्राधिकरणको गत शुक्रबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार सेवाका लागि नेपाल स्याटेलाइट प्रालिलाई २०६४ फागुन ५ गते लाइसेन्स दिएको थियो । लाइसेन्स पाएपछि नेपाल स्याटेलाइट कम्पनीले सुदूरपश्चिमदेखि गोरखासम्म हेलो नेपाल मोबााइल सेवा सञ्चालन गरेको थियो र उक्त मोबाइल सञ्चालन गरेबापत सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी नतिरेपछि २०७६ साल पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच वर्षभित्र किस्ताबन्दीका रुपमा बक्यौता रोयल्टी तिर्ने सुविधा दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि सुमार्गीले २०७७ सालमा पहिलो किस्ताबापत २१ करोड ५१ लाख रुपैयाँ तिरेका थिए तर उनले अरु बाँकी रकम तिरेका छैनन् । उक्त कम्पनीले एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले सुमार्गीको कम्पनी नै खारेज गर्ने निर्णय गरेको हो । उक्त कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम र लाइसेन्स नवीकरण शुल्कबापतको उक्त बक्यौता रहेको हो । यसअघि २०७६ सालमा पनि प्राधिकरणले बक्यौता नतिरेका कारण नेपाल स्याटेलाइट कम्पनीको हलो मोबाइल सञ्चालन गर्ने लाइसेन्स खारेज गरेको थियो । तर उनले प्राधिकरणको ऐनमा टेकेर ३५ दिनभित्र मन्त्री परिषद्मा पुनरवलोकन गर्न निवेदन दिएका थिए र त्यसैको आधारमा सरकारले उनलाई पाँच किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो तर उनले उक्त सुविधाअनुसार २०७८ असार मसान्तसम्म तिर्नुपर्ने किस्ता समेत नतिरेपछि गत कात्तिक १२ गते कम्पनीसँग १५ दिनभित्र जवाफ दिन स्पष्टीकरण सोधेको थियो । सुमार्गीले कात्तिक २२ गते किस्ता तिर्न थप समय मागेपछि उनको स्पष्टीकरणमा चित्त नबुझेकाले प्राधिकरणले उक्त कम्पनी खारेज गर्ने निर्णय गरेको हो ।