दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा चहलपहल बढेको छ । कोरोना भाइरसको कारण लामो समय सुनसान बनेको कालिञ्चोकमा मंसिर पहिलो साता करिब तीन हजार पर्यटकले भ्रमण गरेका छन् । गत शुक्रबार सो क्षेत्रमा सामान्य हिमपात भएपछि यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । शनिबार यहाँ हिउँ खेल्नेको भिड लागेको थियो । दोस्रो लहरको कोरोनाले सुनसान बनेको जिल्लाको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिञ्चोक विस्तारै चलमलाउन थालेको छ । जाडो मौसममा कालिञ्चोकको सुन्दरता झन् राम्रो देखिने भएकाले पनि यो समय कालिञ्चोकमा बाक्लो चहलपहल हुने गर्छ । शुक्रबार र शनिबार ठूलो संख्यामा पर्यटकहरू कालिञ्चोक आएको कुरीका स्थानीय होटल व्यवसायी नवराज तामाङले बताए । दुई दिनमा एक हजार पाँच सय जना पर्यटन कुरीमा बास बसेको व्यवसायी तामाङले जानकारी दिए । कोरोनाले आठ महिना बन्द रहेको कालिञ्चोकमा मंसिर लागेपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएपछि सो क्षेत्रका होटल व्यवसायी उत्साहित देखिएका छन् । जिल्लाकै पर्यटकीय गन्तव्यको रूपमा परिचित कालिञ्चोकमा चहलपहल बढ्दा जिल्लाकै होटल क्षेत्रका व्यवसायी उत्साहित देखिन्छन् । सदरमुकाम चरीकोटबाट नजिकको पर्यटकीय तथा धार्मिकस्थल मानिने कालिञ्चोका ठूलो लगानी गरेर दर्जनौँ होटलहरू खुलेका छन् । लामो समय होटल बन्द गरेर बसेका व्यवसायीहरूले चहलपहल बढेपछि होटल सुचारु गर्न थालेका छन् । कालिञ्चोकमा कुरीदेखि मन्दिरसम्म जानको लागि केबलकारको व्यवस्था गरिएको छ । जिल्लाको माथिल्लो क्षेत्र कालिञ्चोक, शैलुङ, जिरीलगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढ्दा सदरमुकाम चरीकोटमा समेत चहलपहल बढ्ने गरेको छ । अन्य दिनको तुलनामा कालिञ्चोकमा शुक्रबार र शनिबार धेरै पर्यटक पुग्ने गरेका छन् । कालिञ्चोकमा छिमेकी जिल्ला र तराई र भारतबाट धेरै पर्यटक आउने गरेका छन् ।