काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन् । गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम)को बैठकलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता रहेको बताए । ‘विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन्’, उनले भने, ‘यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहनेछन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।’ सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास समेत व्यक्त गरे । ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन्’, उनले भने, ‘नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।’ सभामुख सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका संघ आईपीयूको १४३औँ सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । आईपीयू सम्मेलनमा सहभागी हुन यही मंसिर आठ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यही मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।