विराटनगर । भारत सरकारले आगामी डिसेम्बर ३१ देखि पाम तेलको निकासी बन्द गर्ने तयारी थालेको छ । उक्त तयारीसँगै नेपालका पाम आयल उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । कोभिड १९ को माहामारीमा समेत निर्बाध रुपमा सञ्चालन हुँदै आएका सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगहरू आगामी डिसेम्बर ३१ देखि अब पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको उद्योगीले बताएका छन् । करिडोरबाट सञ्चालन हुँदै आएका पाम आयल उत्पादन गर्ने उद्योगहरूले नेपालबाट निर्यात हुने पाम तेलले भारत निकासीबाट राज्यलाई राम्रो राजस्व बुझाउँदै आइरहेको छ । डिसेम्बर ३१ देखि भारतले निकासीमा कडाइ गर्ने संकेत गरेसँगै नेपाली पाम उद्योगहरू संकटमा पर्ने निश्चित भएको उद्योगीहरू बताउन थालेका छन् । करिडोरमा सञ्चालन रहेका पाम उद्योगहरूले साफ्टा सुविधाअन्तर्गत नेपालमा आयात हुने ठूलो परिमाणको प्रशोधित पाम तेल भारत निकासी गर्दै आएका थिए । उद्योगहरूले विभिन्न तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत निकासी गर्दै आएका छन् । अब ३१ डिसेम्बरपछि भारत सरकारले अख्तियार गर्ने नीतिबाट नै नेपाली पाम उद्योगको भविष्य निर्धारण हुने अवस्था आएको पाम उद्योगीहरू बताउन थालेका छन् । एक उद्योगीले दिएको जानकारीअनुसार नेपालबाट सन् २०१८ मा एक लाख ८९ हजार ७८ टन पाम तेल निकासी भएको थियो भने २०१९ मा पैठारी हिस्सा अघिल्लो वर्षभन्दा तीन सय १४ प्रतिशतले बढेको थियो । यसरी पाम तेल निकासीबाट राज्यलाई समेत राम्रो राजस्व प्राप्त भएको अवस्थामा भारत सरकारले एकपक्षीय ढंगबाट पाम आयल रोक्ने जनाउ दिएको हो । भारत सरकारले नेपालबाट हुने निर्यात नै बन्द गराएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उत्पादन गर्दै आएका आधा दर्जन उद्योगहरू पूर्ण रुपमा बन्द हुने क्वालिटी रिफाइनरी आयलका सञ्चालक विपिन कावराले जानकारी दिए । कावराका अनुसार भारतले पछिल्लोपटक निकासी खुला गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगीहरूले कच्चा पदार्थको आयात बढाएका थिए । तर एक्कासि डिसेम्बर ३१ देखि भारत सरकारले निकासी बन्द गर्ने भन्ने त्रासले लामो समयको लकडाउन र बन्दाबन्दीका कारण धराशायी बनेका उद्योगहरू बिस्तारै लयमा फर्किरहेको अवस्थामा पुनः बन्द हुने र उद्योगमा भएको अर्बौँको लगानीमा समेत क्षति व्यहोर्नुपर्ने निश्चित भएको कुरा युवा उद्योगी कावराले जानकारी दिएका छन् । नेपाल सरकारले भारत सरकारसँग पहल गरी डिसेम्बर ३१ पछि पाम तेलको निकासी नखोल्ने हो भने सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका उद्योग खण्डहर बन्ने अवस्था आउने कुरा उद्योगीहरू बताउन थालेका छन् । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । गत आर्थिक वर्षमा मात्र कुल १५ अर्ब ३५ करोड रुपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको जानकारी पनि उद्योगीहरूले दिएका छन्