काठमाडौं । एयरपोर्टबाट एकै दिन २१ किलो सुन बरामद भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारका कर्मचारीहरुले सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन बरामद गरेका हुुन् ।
विमानस्थल भन्सार स्रोतका अनुसार काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले चार सय १५ जनाको साथबाट उक्त परिमाणमा सुन बरामद गरिएको हो । स्रोतका अनुसार भन्सार कर्मचारीहरुले काँचो सुन ल्याएको भन्दै महसुल तिराएर सम्बन्धित व्यक्तिहरुलाई सुन फिर्ता दिएको र आगामी दिनमा कुनै पनि व्यक्तिको प्रलोभनमा परेर सुन नल्याउन चेतावनी दिएका छन् ।
दुबईलगायतका देशबाट नेपाली श्रमिक स्वदेश फर्किँदा त्यहाँ सुन तस्करहरुले प्रतिव्यक्ति पाँच÷पाँच हजार रुपैयाँ दिने र त्यो सुन नेपालमा रहेका ती तस्करलाई सम्बन्धित व्यक्तिलाई बुझाउने गरिएको छ । सोही आधारमा पनि नेपाली नागरिकहरुलाई सुन तस्करहरुले पछिल्लो समय सुन कारोबारमा भरियाको रुपमा उपयोग गर्दै आएको दाबी स्रोतले गरेको छ ।