काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीका बीच नेपाल सरकारले रसिया सरकारसँग भ्याक्सिन किन्न तथा नेपालमा नै उत्पादन गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सरकारले हालै रसियाको भ्याक्सिन निर्माता सरकारी कम्पनीसँग सोबारेमा विस्तृत जानकारी पठाउनका लागि अनुरोध गर्दै पत्र पठाएको हो । यससँगै नेपालमा रसियन भ्याक्सिन आउने आशा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रसियाको सरकारी अनुसन्धान संस्था गामालिया नेसनल रिसर्च सेन्टर फर इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा उत्पादित खोप स्पुतनिक भीको बारेमा किन्ने प्रक्रिया र उत्पादनको सम्भावनाका बारेमा जानकारी मागेको हो । विश्वका ७१ भन्दा बढी देशहरूमा आधिकारिकता प्राप्त गरेको स्पुतनिक भी (गाम कोभिड भ्याक्सिन समेत भनेर चिनिने) यो खोप १२ वर्षभन्दा मागि उमेरका व्यक्तिहरूलाई लगाउन मिल्नेछ । साथै यो भ्याक्सिन लगाएपछि दुई वर्षसम्म प्रभावकारी भएको हुँदा पटक–पटक अन्य खोप किन्ने र रकम विदेश जाने अवस्थाको अन्त्य हुनेछ ।
यसबाहेक विश्व बजारमा रहेका अन्य खोपहरूको प्रभावकारिता छदेखि नौ महिना मात्र भएको हुँदा सरकारले यस खोपको बारेमा चासो दिँदै प्रक्रिया अगाडि बढाएको हो । सरकारले सो भ्याक्सिन सरकार र सरकारबीच जीटूजीको माध्यमबाट चाँडै नै कसरी उपलब्ध गराउने र नेपालमा नै कसरी उत्पादन गर्न सकिन्छ भन्ने बारेमा विस्तृत जानकारी पठाउन भन्दै निर्माण कम्पनीलाई पत्र पठाएको हो । यसअघि कोरोनाको भ्याक्सिन नेपालमा नै उत्पादन गर्नको लागि सरकारले मन्त्रिपरिषद्बाट नयाँ नीति तथा कार्यक्रम पारित गरेको थियो । सोही आधारमा भ्याक्सिन उत्पादन प्रक्रिया र नेपालले पाउने सहुलियतको बारेमा गामालियासँग जानकारी दिन भनेको हो ।
दुवै देशका सरकारहरूबीच सम्झौता गरेर रसियन भ्याक्सिन उपलब्ध गराउनुका साथै नेपालमा नै सरकारले उत्पादन गर्नसक्ने गरी रसियाको सरकारी अनुसन्धान संस्था गामालिया नेसनल रिसर्च सेन्टर फर इपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीले प्रस्ताव गरेको थियो । सो प्रस्तावमा नेपालमा भ्याक्सिन उपलब्ध हुने र नेपालमा नै निकै न्यून लागतमा उत्पादन गरेर निर्यात समेत गर्न सकिने भन्दै त्यसमा लगानी समेत उपलब्ध गराउने उल्लेख गरेको थियो ।
अहिले विश्व बजारमा उपलब्ध रहेका अन्य भ्याक्सिनहरूभन्दा निकै प्रभावकारी मानिएको र यो खोप लगाएपछि दुई वर्षसम्म प्रभावकारी रहने सो भ्याक्सिन नेपालमा उत्पादन गरेर विदेश निर्यातका लागि समेत सहजीकरण गर्ने बताइएको छ । रसियामा रहेका नेपालीहरूको सहयोग र सम्पर्कको आधारमा उत्पादक संस्था गामालियाले नेपालको सरकारसँग सहकार्य गर्न चाहेको हो । जसमा नेपाली संस्था रियालन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले नेपाल सरकारसँग आवश्यक प्रक्रिया पूरा गर्नका लागि सहजीकरणको काम गरिरहेको छ ।
नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र भएको नाताले र नेपालीहरूसँगको आत्मियताका कारण समेत उत्पादक गामालियाले नेपालीहरूलाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने र नेपालभित्रै सो भ्याक्सिन उत्पादन गराउन सहयोग गर्ने भनेको हो । जसमा कम्पनीले आवश्यक पर्ने प्राविधिक सहयोग, उत्पादन गर्ने प्रविधि र कच्चा पदार्थ समेत सहजरूपमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ, जसले गर्दा नेपालभित्र तीन महिनामा नै स्पूतनिक भी खोप उत्पादन गर्न सकिने रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनीले जनाएको छ ।
पछिल्लो समयमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै विश्वका विकसित मुलुकहरूमा संकटकाल लगाउने र सुरक्षा अपनाउने कार्य भइरहेको बेलामा तेस्रो मात्रा अर्थात् बुस्टर डोज समेत लगाउन थालिएको छ । यस्तो अवस्थामा आगामी दिनमा नेपालीहरूलाई समेत बुस्टर डोज उपलब्ध गराउनुपर्ने देखिन्छ । जसमा ठूलो वैदेशिक मुद्रा विदेशिने निश्चित छ । तर स्थानीयस्तरमा स्पूतनिक भी खोप उत्पादन गर्न सकिएको खण्डमा नेपालीहरूको खोप सुनिश्चित हुने र सरकारले चुनौतीलाई अवसरमा बदल्ने मौका समेत प्राप्त गर्ने रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनीले बताएको छ ।