चीन, माघ १९
कफीमा विख्याति कमाएको अमेरिकी कम्पनी स्टारबक्सले चीनमा केही सातायता फैलिएको कोरोनाभाइरसका कारण आफ्ना दुई हजार शाखा बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले चीनमा रहेकामध्ये झण्डै आधा शाखा बन्द गरेको बीबीसीले जनाएको छ । कोरोना भाइरसका कारण आफ्नो वित्तीय क्षेत्रमा समेत असर गर्ने कम्पनीको भनाइ छ । भाइरस नियन्त्रणमा लिन चीनले गरिरहेको प्रयासलाई सघाउन र आफ्ना कर्मचारीलाई भाइरसबाट जोगाउन उक्त निर्णय गरेको कम्पनीको भनाइ छ । चीनमा कम्पनीका ४ हजार ३ सय आउटलेट रहेका छन् । जुन अमेरिकापछि धेरै हो ।
हालसम्म कोरोना भाइरसका कारण १ सय ३० जनाको मृत्यु भइसकेको छ भने ६ हजारमा संक्रमण फैलिएको छ । कम्पनीका प्रमुख कार्यकारी केभिन जोन्सनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी दिए । कम्पनीले सन् १९९९ को जनवरीमा चिनियाँ राजधानीमा पहिलो चिनियाँ स्टोर खोलेको थियो । कम्पनीले चीनबाट कुल आम्दानीको १० प्रतिशत संकलन गर्दै आएको छ । त्यस्तै एप्पलका प्रमुख टिम कुकले पनि भाइरस संक्रमण फैलिएको अवस्थाको सूक्ष्म ध्यान दिइरहेको बताएका छन् ।
एप्पलले चीनमा यात्रा घटाएको छ भने काम गर्ने समय पनि कम गरेको छ । यसअघि नै फेसबुकले आफ्ना कर्मचारीलाई चीन नजान भनिसकेको छ । यता सवारीनिर्माता टोयोटाले पनि बुधबार नै फेब्रुअरी ९ सम्म चिनियाँ प्लान्टबाट उत्पादन बन्द गरेको छ । कम्पनीको टियान्जिन सहरमा र गुआंगडोंग प्रान्तमा सवारीसाधन निर्माण गर्ने प्लान्ट रहेको छ । भाइरसको उद्गमस्थल वुहानबाट हालसम्म सयौँ विदेशीको उद्धार गरिसकिएको छ ।